सद्भाव प्रवद्र्धनका लागि राजनीतिक समाज र नागरिक समाजसहितको सहकार्यमा जोड
( २०८३ साउन देखि कार्तिक मसान्तसम्म हुने मानव अधिकार तथा शान्ति समाजको जिल्ला शाखाहरूको साधारण सभाको उद्घाटन सत्रमा प्रस्तुत अबधारणापत्र)
हिंसालाई बढावा दिने कुनै पनि प्रवृत्ति, प्रचलन वा परम्परालाई निरुत्साहित गर्ने उद्देश्यले तीन दशक अगाडि मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । हिंसामुक्त समाजका लागि सद्भावयुक्त वातावरण अत्यावश्यक छ । तसर्थ शान्ति समाजको उद्देश्यमध्ये सद्भाव प्रवद्र्धन एक रहेको छ । शान्ति तथा अहिंसात्मक संस्कृति निर्माण र विस्तारका लागि सद्भाव प्रवद्र्धन अनिवार्य आवश्यकता हो । सद्भाव हाम्रो जीवन धारा भन्ने आह्वानसहित विगत तीन दशकमा शान्ति समाजले सद्भाव प्रवद्र्धन हेतु दर्जनौँ अभियान सञ्चालन गरिसकेको छ । समाज रूपान्तरणका लागि चालक शक्ति सदैव अहिंसा हुनुपर्नेमा शान्ति समाजले जोड दिँदै आएको छ । शान्तिको जग र अहिंसाको मुहान नै सद्भाव हो । दिगो शान्तिका लागि समुदायबीच स्थिर र सुमधुर सम्बन्ध सदैव अनिवार्य छ । सो का लागि सद्भाव तथा सहिष्णुता प्रवद्र्धन एवं हिंसा र घृणाको खारेजी आवश्यक छ ।
पछिल्लो चरणमा देशका केही भागमा घटेका घटनाहरू चिन्ताजनक छन् । राजनीतिक लगायत विभिन्न स्वार्थका खातिर सद्भाव भड्काउने गरी षडयन्त्र भइरहेकोतर्फ सजग हुनु आवश्यक छ । यस्ता घटनाको पछाडि को छ ? जरो समेत पहिचान गरी प्रमुख पात्र र प्रवृत्तिलाई दण्डित गर्नु आवश्यक रहेको धारणा शान्ति समाज पुन दोहो¥याउँछ ।
सद्भाव प्रवद्र्धन हेतु सबै मिलेर अहिले धेरै पसिना बगाउन सकियो भने भविष्यमा धेरै रगत बग्ने छैन । सहिष्णुताका आदर्शहरूलाई प्रवद्र्धन गर्न सकियो भने हिंसा र घृणाले बास पाउने छैन । तसर्थ धार्मिक सद्भाव, जातीय सद्भाव, सामाजिक सद्भाव, राजनीतिक सद्भावलाई प्रवद्र्धन गर्न राजनीतिक समाज र नागरिक समाजबीच सहकार्य अहिलेको आवश्यकता हो ।
यही आवश्यकता मनन गर्दै शान्ति समाजले २०८३ साउन १६ गतेबाट “सद्भाव एकता अभियान” प्रारम्भ गरेको छ । “हाम्रो जीवन धारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित सुरु गरिएको यो अभियानको पहिलो चरणमा विभिन्न जिल्लामा सद्भाव एकता ¥याली सम्पन्न भइसकेको छ । यो अभियानलाई साथ दिन शान्ति समाज सबैलाई हार्दिक आग्रह गर्दछ ।
वर्तमान विश्वमा सामाजिक सञ्जाल÷सूचना प्रविधि जनजीवनको अभिन्न हिस्सा भएको छ । यस्तो प्रविधिको विवेक सम्मत प्रयोगले समाजलाई सही गति र दिशा निर्देश गर्दछ । तर सद्भाव बिथोल्ने र हिंसा भड्काउने जुनसुकै कृत्य अपराध हो । कुनै पनि हिंसा वा दङ्गा फसादका पछाडि भ्रामक समाचार र दुष्प्रचार जिम्मेवार रहँदै आएको देखिएको छ । तसर्थ मिथ्यालाई जडबाटै खारेज गर्नुपर्छ । घृणा र हिंसालाई बढावा दिने मिस इन्फरमेसन र डिस इन्फरमेसनमा संलग्नहरूलाई कानुन सम्मत दण्डित गर्नुपर्दछ ।
एकातिर अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार हो तर घृणात्मक अभिव्यक्ति अर्थात् हेट स्पिच अभिव्यक्ति स्वतन्त्रता होइन, अपितु अपराध हो । शान्ति समाजले विगत लामो समयदेखि व्याख्यासहित यसबारे ध्यानाकर्षण गराउँदै आएको छ ।
आधारभूत स्वतन्त्रताको रक्षा राज्य, समाज सबैको प्रथम दायित्व हो तर स्वतन्त्रताको अर्थ स्वच्छन्दता र स्वेच्छाचारिता होइन । विज्ञान र प्रविधि समयको देन र सभ्यताको सौगात हो । त्यस्तो सौगातको समुचित एवं विवेक सम्मत प्रयोग हुनुपर्छ र सद्भाव र सहिष्णुता सदैव केन्द्र विन्दुमा रहनुपर्दछ ।